शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाका ११५ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ । अर्जुनधारा नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले लौरो वितरण गरेका हुन् ।

 

सभामुखको सचिवालयको समन्वयमा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकलाई र लौरो उपहारसहित आवधिक नगर विकास योजना हस्तान्तरण गरेका थिए । यसैगरी नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई सुधारिएको चुल्हो पनि वितरण गरियो ।

 

नगरकी उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रममा संविधानसभाका सदस्य प्रेम गिरी, नगरकी पूर्व प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईलगायतले आफ्नो भनाइ राखेका थिए ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, नगरका जनप्रतिनिधि, विभिन्न पार्टीका झापा प्रमुख तथा प्रतिनिधि, नगरका प्रमुख तथा प्रतिनिधि, नगरका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए ।