झापा । आगामी पाँच वर्षभित्र अर्जुनधारा नगरलाई कस्तो बनाउने मार्गदर्शनसहितको आवधिक नगर विकास योजना सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नगर प्रमुख तामाङलाई उक्त योजनाको पुस्तक हस्तान्तरण गरे ।

 

सभामुख घिमिरेका स्वकीय सचिव एवम् कञ्चनजंघा परामर्श सेवा प्रालिका अध्यक्ष केशवराज ढुंगेलले तयार गरेको उक्त योजनाबारे अर्जुनधारा नगरपालिकाकी निवर्तमान प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले संक्षिप्तमा जानकारी गराएकी थिइन् ।

 

योजनामा जनसांख्यिक अवस्थालाई, जातीय, धार्मिक तथा भाषागतरुपमा केलाइएको स्वकीय सचिव ढुंगेलले बताए । उनका अनुसार नगर क्षेत्रमा ७ वटा धर्म मान्ने ९ वटा भाषा बोल्ने र कम्तिमा एक प्रतिशत जनसंख्या भएका १४ जातिका बारेमा विस्तृतरुपमा विश्लेषण गरिएको छ ।

 

यस्तै, नगरबासीको साक्षरता दर, रोजगारीको अवसर, सम्भावना र समस्या, विद्युत्, टेलिफोन, इन्टरनेट सेवा, नगरको कुल ग्राहास्थ उत्पादन र व्यक्तिगत आम्दानीका बारेमा पनि समेटिएको छ ।

 

यसैगरी, नगरका २१ वटा स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा अघि सारिएको योजनामा नगरका हरेक क्षेत्रको माटोको परीक्षण गरी कृषि कर्मलाई सिफारिस गरिएको छ । पुस्तकमा यस क्षेत्रको अवसर, सम्भावना र चुनौतीलाई सुक्ष्मरुपमा विश्लेषण गरिएको ढुंगेलको दाबी छ ।

 

पुस्तकमा सभामुख घिमिरे, नगर प्रमुख तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राई, योजना तयारीकर्ता ढुंगेलले हस्ताक्षर गरेका छन् ।