झापा । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । नेता बुढाथोकीको निधनले झापा शोकमग्न बनेको छ ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए ।

 

‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । विराट नर्सिङ होम विराटनगरमा उनको उपचार भइरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

 

बुढाथोकी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए । पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा उदाएका थिए । पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो । त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन् ।

 

उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल पनि परेका थिए । कुनै समयका पञ्चायतविरोधी उनी कालान्तरमा पञ्चायतका पक्षपाती बन्दै पञ्चायत निकट युवक संगठनको झापा जिल्ला सभापति मात्रै बनेनन्, राष्ट्रिय पञ्चायत सदस्यको रुपमा समेत विजयी भए ।

 

करिब चार वर्षदेखि प्रोष्टेट क्यान्सरसँग लडिरहेका थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो ।

 

पार्टीभित्र आफ्ना विचार स्पष्टसँग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसँगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ ।

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढाथोकीको निधनले पूर्वी नेपालको राजनीतिमा ठूलो रिक्तता महसुस भएको जनाएका छन् । ‘उहाँ हक्की स्वभावका राजनीतिज्ञ हुनुहुन्थ्यो,’ महामन्त्री शर्माले भने, ‘उहाँको निधनले ठूलो क्षति पुगेको छ ।’ उनको मंगलबार कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।