झापा । ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना झापाको गौरादहमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादहका निरज खत्री रहेका छन् ।
हिजो साँझ ७ बजेको समयमा गौरादह नगरपालिका वडा नम्बर ५ मा स्कुलचौन बजारबाट डोरामारीतर्फ जाँदै गरेको मे. ६ प ४७८० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा मोटरसाइकल चालक गौरादह ४ बस्ने २२ वर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर र नगद ८ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकलसहित खत्रीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।