शनिश्चरे । झापाको अर्जुनधारा जेसीजले अर्जुनधारा नगर क्षेत्रमा रहेका दृष्टिविहीनहरुलाई सोमबार सेतो छडी वितरण गरेको छ ।
सहारा नेपाल साकोसको सहयोगमा जेसीजले नगरका २२ जना दृष्टिविहीनहरुलाई सेतो छडी वितरण गरेको अर्जुनधारा जेसीज शनिश्चरेका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए ।
जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन थिए । सहभागीहरुलाई कार्यक्रम संयोजक भवानी बरालले स्वागत गरेका थिए ।
दृष्टिविहीनहरुलाई नगर प्रमुख गोम्देन, ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेती, ६ नम्बर वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, ३ नम्बर वडाध्यक्ष सिताराम भट्टराई, सहारा नेपाल साकोस सञ्चालक समितिका सदस्य भोला बराललगायतले सेतो छडी वितरण गरेका थिए ।
जेसीजका महासचिव मनोज सिटौलाले सञ्चालन गरेको कार्यक्रममा सेतो छडी लिन आएका २२ जना दृष्टिविहीनहरुलाई अर्जुनधारा जेसीजले यातायात खर्च उपलब्ध गराएको थियो । कार्यक्रम अर्जुनधारा जेसीज र युथ अफ खुदुनाबारीको संयुक्त आयोजनामा भएको हो ।