बिर्तामोड । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित माछा ठूलो परिमाणमा सशस्त्र प्रहरी बलको शनिश्चरे बेस क्याम्पले बरामद गरेको छ । बरामद गरिएका माछामा रहु, पमप्लेट रुपचन र पङ्गास प्रजातिका छन् ।

 

अर्जुनधारा ६ स्थित बिहानी टोलमा आज बिहान ७ः३० बजे तीन वटा मोटरसाइकलमा भित्र्याइएको ५ क्वीन्टल (५ सय केजी) तीन प्रजातिको प्रतिबन्धित माछा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

 

को.९ प १६०८, मे. ३ प ९७६१ र मे. ४ प ९६४२ नम्बरको मोटरसाइकलमा भित्र्याइएको सडेगलेका माछा बरामद गरिएको बेस क्याम्प प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार अवैधरुपमा भित्र्याइँदै गर्दा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडी चालक फरार भएका थिए । बरामद मोटरसाइकल मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको छ ।

 

यसैबीच, बरामद गरिएको माछा बेस क्याम्प परिसरमा नषट गरिएकाे छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, खाद्य क्वारेन्टाइन काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहलगायतको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको हाे ।