झापा । सर्वोच्च अदालतले झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सरकारलाई आदेश दिएको छ ।

 

न्यायाधीशहरु शारङ्गा सुबेदी र कुमार चुडालको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । सोही इजलासबमोजिम मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो ।

 

सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 

अस्पतालका सञ्चालक प्रसाईँले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट दर्ता गरेका थिए ।

 

मेडिकल व्यवसाय हुँदै राजनीतिक सम्बन्ध बनाएका दुर्गा प्रसाईँले खोलेको मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद भएको थियो ।