झापा । होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना झापामा पक्राउ परेका छन् । ट्राफिक नियमविरीत चलाइएका ३५८ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
होली मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । प्रहरीका अनुसार आज दिउँसा अढाइ बजे ६ जनालाई पक्राउ गरिएको थियो ।
सोही समयमा १८० वटा दुई पाङ्ग्रे, ९ वटा तीन पाङ्ग्रे सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, ४ बजेको समयमा उक्त संख्या ३५८ वटा पुगेको प्रहरीले अपडेट गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार अपराह्न ४ बजे दुई पाङ्ग्रे सवारी साधन ३४७ थान, तीन पाङ्ग्रे १० थान र चार पाङ्ग्रे १ थान सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीन जना मोटरसाइकलमा सवार हुने, हेल्मेटबिना मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको उनले बताए ।
प्रहरी प्रशासनले कसैको इच्छाविपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गरेमा कानुनी कार्वाही गर्ने निर्णय गरेको थियो । झापाको बिर्तामोड, दमकलगायतका ठाउँमा सामूहिक होली खेल्ने कार्यक्रम आयोजना गरिएको थियो ।