फाइल तस्वीर ।

दमक । झापाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । तीन दिनअघि मात्रै शिवसताक्षीकी एक महिलाकाे हात्तीकै आक्रमणबाट मृत्यु भएकाे थियाे ।

 

प्रहरीका अनुसार कमल गाउँपालिका वडा नम्वर ५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीको आक्रमणबाट शुक्रबार राति ज्यान गएको हो । सुतिरहेको अवस्थामा बारबेरासहितको घर भत्काउन थालेपछि लिम्बू भागेकी थिइन् ।

 

भाग्ने क्रममा घरभन्दा करिब ३० मिटर पर हात्तीले पछारेर लिम्बूलाई मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। तीन दिनअघि मात्रै रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी ११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो । घटनामा उनका श्रीमान घाइते भएका थिए ।

 

योसंगै यस वर्ष हात्तीको आक्रमणबाट झापामा ७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिएकी छन् ।