
इलाम । इलामको रोङ गाउँपालिका ३ स्थित कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति भएकाे दुर्घटना परी एक जना घाइते छन् ।
मेची राजमार्गबाट मार्से जाने सडकबाट मे १ त २४०८ नम्बरको ट्यांकर (पानी बोक्ने ट्याक्टर) खस्दा दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका ४ का १७ वर्षीय रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ ।
सोही ट्यांकरमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक विष्णुबहादुर खड्काले बताए । ट्यांकर चालक ३६ वर्षीय मनोज राई घाइते भएका छन् । उनको झापास्थित अस्पतालमा उपचार भइरहेको छ ।