बिर्तामोड । नेकपा एमाले झापाको ११औं अधिवेशनबाट प्रेमबहादुर गिरी अध्यक्षमा निर्विरोध चयन भएका छन् । अध्यक्ष गिरीसँगै उपाध्यक्षमा शिव ढुंगेल पनि निर्विरोध चयन भएका छन् ।

 

आज बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको उम्मेद्वारी दर्ताको समयभित्र अध्यक्ष र उपाध्यक्षमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएको हो । सचिव र उपसचिवमा भने एकभन्दा बढीको उम्मेदवारी परेको छ ।

 

सचिवमा तुलसी कार्की र बोधराज घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने उपसचिवमा असारु राजवंशी, अनिता कन्दङ्वा, टीका मग्रान्ती र चन्द्रा सुब्बाले उम्मेदवारी दिएका छन् ।

 

यसअघि अध्यक्ष पदका लागि आकांक्षा राखेका ढुंगेल उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनलाई प्रदेश कमिटीमा लैजाने चर्चा पनि रहेको थियो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि बिहीवार साँझबाट निर्वाचन कार्यक्रम संचालन गरिएको छ ।

 

जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने भएको छ । त्यसका लागि करिब ३५० जनाले उम्मेदवारी दिएको जनाइएको छ ।