
बिर्तामोड । गोर्खा फाउन्डेशन नेपालले कलाकारदेखि सामाजिक अभियन्तालाई पाँच व्यक्तित्वलाई झापाको बिर्तामोडमा ‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान२०८०’ बाट सम्मान गर्ने भएको छ ।
सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीसहित पाँच जना श्रष्टा सम्मानित हुने भएका छन् । सम्मानित हुनेहरुमा बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, अन्टाक्र्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा र सहकारीसँगै विभिन्न सामाजिक संघसंस्थामा सफतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक ब्यक्तित्व गिरी छन् ।
उनीहरु पाँचै जनालाई विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८० कार्यक्रम अन्तरगत यही चैत २१ गते बिर्तामोडमा सम्मान गरिने भएको छ ।
चलचित्रको लेखन, निर्देशन तथा निर्माण गरी नेपाली चलचित्रको क्षेत्रलाई संस्थागत गर्दै नेपाली कला क्षेत्रको विकासमा अतुलनीय योगदान गरेको भन्दै भारत निवासी घिमिरेलाई सम्मान गरिन लागेको र नेपाली चलचित्रको नायकको भुमिकामा ३५ वर्षदेखि रहेर नेपाली चलचित्रलाई स्थापित गराउन सफल महानायकले समेत परिचित हमालले चलचित्रसँगै समतामुलक समाज निर्माणमासमेत महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गर्न लागिएको बताइएको छ ।
त्यस्तै उत्पीडन महिलाहरुको समुदायले भोग्नु परेको पिडासमेतबाट निजामति सेवामा प्रवेश गरी उत्पीडन महिलाहरुबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी सितालाई सम्मान गर्न लागिएको छ भने भारतीय गोर्खा रेजिमेन्ट भुवनसिंह भारतीय सेनाको टोलीबाट मानवविहीन अन्टाक्र्टिका महादेशमा पुग्ने पहिलो नेपाली बनेर नेपाली नागरिकको इतिहास रच्न सफल भएको भन्दै सम्मान गर्न लागिएको जानकारी दिइएको छ ।
त्यसैगरी, ३४ जना सदस्यबाट स्थापना भएको सहारा नेपाल साकोसलाई नेपालकै सबैभन्दा ठूलो सहकारी बनाउन योगदान साथै समर्पण भवन निर्माण, एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनिकरण महाअभियान, पिसिआर ल्यावको स्थापना, अक्सिजन सिलेण्डरको ब्यवस्थापन, झापा गोल्डकपलगायतका दर्जनौ सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेर समाज र देशका लागि अतुलनीय कार्य गरेको भन्दै गिरीलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सहारा नेपालका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गिरीलाई सहकारीको स्थापना दिवसकै अवसरमा सम्मान गर्न लागिएकोसमेत जानकारी दिइएको छ ।
नेपाल राष्ट्र निर्माता पुथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका तत्कालीन गोरखा दरबारमा, दरबारिया तथा राजपरिवारको भोटो सिलाउने साथै दरबारमा नगरा बजाउने नौबाग तथा विशे नगर्चीको योगदानका स्मरण गर्दै नयाँ पुस्ताबीच पुनःस्थापित गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बिरु दर्नालले जानकारी दिए ।
राजा पृथ्वीनारायण शाहलाई स–साना राज्यहरुलाई एकीकरण गर्न आर्थिक अभावका समयमा विशे नगर्चीको सल्लाहअनुसार समस्या समाधान भएको इतिहासमा पढ्न सकिने आयोजक संस्थाका अध्यक्ष दर्नालले बताए । पत्रकार सम्मेलनमा सम्मान छनौट समितिका संयोजक हस्त परियार, आयोजक संस्थाका सदस्यलगायतको उपस्थिति रहेको थियो ।