झापा । ४८.५५० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेको भोलिपल्ट झापा गाउँपालिकाबाट फेरि दुईजना पक्राउ परेका छन् । झापा भारतसँगको सिमावर्ती गाउँपालिका हो ।

 

झापा गाउँपालिका ४ लसुनास्थित सीमाक्षेत्रबाट ६३.५९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । ब्राउन सुगरसहित पक्राउ पर्नेमा झापा गाउँपालिका ७ बस्ने २५ वर्षीय सुनिराम हेमरम र सोही ठाउँ बस्ने २१ वर्षीय हिरण राजवंशी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

 

झापा गाउँपालिका ४ लसुना सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गौरीप्रसाद थापाको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले शुक्रबार राति ८ बजेको समयमा पैदल आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो ।

 

चेकजाँचका क्रममा हेमरमले किराना सामान बोकेको झोलामा ६३.५९ ग्राम ब्राउनसुगर फेला परेको हो । सशस्त्र प्रहरीले ब्राउनसुगर र पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कुमरखोद झापामा बुझाएको छ ।

 

यसअघि सशस्त्र प्रहरीले झापा गाउँपालिकाको सितुमारी ईलाकाबाट हिजो भारत जिल्ला किशनगञ्ज धनतोला ग्रामपञ्चायत बालुवाडी बस्ने वर्ष २३ का राहुल मण्डललाई पक्राउ गरेको थियो । उनको साथबाट ४८.५५० ग्राम ब्राउनसुगर बरामद भएको थियो ।