झापा । नक्कली सुन देखाई ठगी गर्ने एकजना भारतीय नागरिक बिर्तामोडमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत जल्पाइगुडी ४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् ।

 

उनलाई हिजो दिउँसो बिर्तामोड नगरपालिका वडा नम्बर ५ शनिश्चरेरोडमा फेला पारी नियन्त्रणमा लिइएको हो । हिजो दिउँसो अन्दाजी २ः३९ बजेको समयमा बिर्तामोड ५ स्थित शनिश्चरेरोडमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ की ४५ वर्षीया सविता सिटौलालाई गिरीले ‘मसँग काँचो सुन छ, तपाईलाई म ६० हजारमा दिन्छु’ भनी ललाई फकाई ६० हजार रकम लिई सवितालाई बिस्कुटजस्तो आकारको नक्कली सुन (टिल) दिएर ठगी गरेका थिए ।

 

पीडितले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउना साथ उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई शनिश्चरे रोडमा फेला पारी नियन्त्रणमा लिई सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।