झापा । झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । मेचीनगर नगरपालिका-११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो ।

 

अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको कुरा पुष्टि भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

 

‘हात्तीको कानको छेउमा गोली प्रहार गरेर मारेको रहेछ’, डिभिजन प्रमुख राईले भने, ‘हात्तीको अन्य भागमा गोली छिर्दैन, यो वन्यजन्तु शिकारी गर्ने समूहकै काम हुनुपर्छ, यसबारेमा डिभिजन कार्यालयले अनुसन्धान थालिसकेको छ ।’

 

हात्तीलाई लागेको गोली अझै फेला परेको छैन । पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ । गोली हड्डीभित्र छिरेकोले हाललाई निकाल्न नसकिएको बताइएको छ ।

 

‘हात्तीको हड्डी निकै कडा हुन्छ, त्यसैले गोली निकाल्न समस्या भयो’, डिभिजन प्रमुख राईले भने । ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको भन्ने कुरा पनि बाहिर आउँथ्यो’, उनले भने ।

 

हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिन्छ । ‘अरू भाग पोस्टमार्टम गरी निकालेका छौँ । पुच्छरको रौँ पनि तानेर लगेको छ’, उनको भनाई छ ।

 

स्थानीयका अनुसार वैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो । यो घटना त्यही दिनको हुन सक्ने अनुमान गरिएको उनले बताए । हात्तीको पोस्टमार्टम गरी बुधबार नै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए ।

 

‘जिल्लामा यस्तो घटना अहिलेसम्म भएको थिएन, यो पहिलो घटना पनि हो’, उनले भने । हात्तीलाई गोली हानेर मारेपछि मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले घटनाको घोर भत्र्सना गरेको छ ।