झापा । झापाको कचनकवल ६ स्थित बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकापसमा जुधेका थिए ।
दुर्घटनामा बीआर३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक कचनकवल ४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार १४ वर्षीय संदिप माझी गम्भीर घाइते भएका छन् । उनलाई ओमसाई पाथीभरा हस्पिटलबाट बीएण्डसी हस्पिटल लगिएको छ ।
त्यस्तै मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नं ७ बस्ने अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् ।
उनीहरुको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको र दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।