काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा स्थापित ‘फोनिज युके पत्रकारिता सम्मानबाट झापाली अग्रज पत्रकार दिपीन राई सम्मानित भएका छन् ।

 

लामो समयदेखि ग्रामीण पत्रकारिता गर्दै पहिचानको पक्षमा कलम चलाउनुको साथै सुशासन कायम गर्न उल्लेखीय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

 

पत्रकार राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सम्मान र पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।

 

कार्यक्रमकी प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सम्मानित दुवै पत्रकारलाई सम्मानपत्र र पुरस्कार प्रदान गरेकी थिइन् ।

 

फोनिजका अध्यक्ष गजुरधन राईको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति महेन्द्र विष्ट, फोनिजका पूर्व अध्यक्ष दण्ड गुरुङ, फोनिज युकेकी निवर्तमान अध्यक्ष गोमा रानामगर, प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेसका प्रतिनिधिलगायत र सम्मानित पत्रकार राई र चेपाङले आ–आफ्नो विचार राखेका थिए ।

 

सोही अवसरमा सत्यनारायण श्रेष्ठको विषयमा बहस तथा चर्चा चलाइएको थियो । फोनिजले सत्यनारायण श्रेष्ठ नै नेपाल पत्रकार महासंघको पहिलो अध्यक्ष भएको निश्कर्ष निकाल्दै चर्चा चलाइएको थियो ।