झापा । विवाह प्रस्ताव अस्वीकार गर्दा एक शिक्षकले छात्रामाथि गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ । उदयपुरको लिङचिङबुङ –३ घर भई हाल झापाको दमक–५ मा बस्दै आएकी १८ वर्षीया एनिका गजमेरमाथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो ।

 

प्रेम सम्बन्ध विवादमा परिणत हुँदा प्रेमीको गोली प्रहारबाट प्रेमिका घाइते भएकी हुन् । दमक–२ स्थित हिमालय माविमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी गजमेरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले बताए ।

 

गोलीको छर्रा लागेर उनको पेटको नाइटोमाथि जलेको, दबेको जस्तो चोट देखिएको छ । ‘गोली पेटभित्र छिर्न पाएन’, एसपी केसीले भने, ‘गोली कपडामा अकडिएको अवस्थामा चिकित्सकले फेला पारेको थियो ।’

 

घाइतेको अवस्था सामान्य रहेको र उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जनाइएको छ । एनिका आफ्नै दिदीसँग दमक–५ कमल बुढाथोकीको घरमा डेरा गरी बस्दै आएकी थिइन् ।

 

यता गोली प्रहार गर्ने युवक सिराहाका अमितकुमार यादव हुन् । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । एक प्रहरी अधिकारीका अनुसार अमित र एनिकाबीच प्रेम सम्बन्ध थियो ।

 

प्रेममा खटपट भएका कारण अमितले एनिकालाई हत्या गर्ने मनसायले गोली प्रहार गरेको हुन सक्छ । उनले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको बताइएको छ । पेस्तोल पुरानो र खिया लागेका कारण शरीरमा गोली छिर्न नसकेको अनुमान छ । गोली कपडामा लागेर बेरियो । अमित पेशाले शिक्षक हुन् ।

 

उनले प्रेमिका एनिकालाई विवाहका लागि दबाब दिँदै आइरहेका थिए । एनिकाले उनको प्रस्ताव अस्वीकार गरी दमकमा दिदीसँग बस्दै आएकी थिइन् । अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओमा भनेकी छिन्, ‘आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक-दुई पटक भेट्न बोलाएको थियो ।’ प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् ।

 

यादव कहाँ बस्थे भन्नेबारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ । अमितलाई पक्राउ गर्न झापा प्रहरी सिराहा प्रहरीसँग समन्वय गरिरहेको जनाइएको छ ।