अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले सडक कालोपत्रे बनाउने कार्यलाई तिब्रता दिइरहेको छ । नगरपालिकाले यतिबेला सहिद सुखानी पार्क (झिल) जाने बाटो कालोपत्रे गरिरहेको छ ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रत्यक्ष निगरानीमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा शनिबार सडक कालोपत्रे गरेको हो । अर्जुनधारा ६ र ११ अन्तरगत ७ सय मिटर लम्बाई र साढे ५ मिटर चोडाई बाटो कालोपत्रे गरिएको हो ।

 

स्थानीय दधिराम रिमालको घरपूर्व तीनपैनी हुँदै सहिद सुखानी पार्क (झिल) जाने बाटो कालोपत्रे भएको छ । सडकको गुणस्तर र टिकाउका लागि नगर प्रमुख गोम्देन आफैं निमार्णस्थलमा खटिएका छन् । नगर क्षेत्रको हरेक सडक कालोपत्रे हुँदा नगर प्रमुख गोम्देन आफैं सहभागी हुँदै काम गराउने गरेका छन् ।

 

नगरपालिकाको गौरवको आयोजनाअन्तरगत उक्त बाटो कालोपत्रे गरिएको नगर प्रमुख गोम्देनले जानकारी दिए । उक्त सडक ४० लाख रुपैयाँको लगानीमा कालोपत्रे गरिएको हो । यसवर्ष नगरको गौरवको योजना अन्तरगत तीन वटा सडक कालोपत्रे हुने नगरपालिकाले जनाएको छ ।

 

अर्जुनधारा ३ को फागुनन्द चोकबाट कैँदले जाने र वडा नम्बर १० मा सिर्जना चोकबाट सेतीपानी जाने बाटो कालोपत्रे हुने नगर प्रमुख गोम्देनले बताए । आवश्यकता ठानेको ठाउँमा सडक कालोपत्रे गरिने योजनाअनुरुप यसवर्ष तीन स्थानमा सडक कालोपत्रे गरिने उनले बताए ।

 

नगरभित्र चालु आर्थिक वर्षमा संघ, पूर्वाधार, प्रदेश, सहरी विकास, सडक विभाग अन्तरगत धेरै सडकहरु कालोपत्रे भइसकेको र केही हुने क्रममा रहेका छन् ।