बिर्तामोड । झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोषदाता सम्मानित भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानित भएका हुन् ।

 

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतबार (आज) शंकराचार्यको जन्मजयन्तीका अवसरमा उनीहरुलाई सम्मान गरेकोे हो ।

 

अग्रज पत्रकार, नागरिक एफएमका प्रधान सम्पादक तथा साप्ताहिक समाचारका सम्पादक गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरीलाई सम्मान गरिएको हो ।

 

पत्रकारत्रयले दशनामी समाजको प्रचारप्रसारमा समाचारका माध्यमबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै समाजले सम्मान गरेको हो । त्यस्तै, नगर समितिले स्थापना गरेको अक्षयकोष तथा हितकोषका लागि रकम प्रदान गरेका व्यक्तित्वलाई पनि सम्मान गरिएको छ ।

 

समाजका नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक केन्द्रीय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो ।