शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित सालबारीमा रहेको किरातेश्वर हाङसाम थेवा युमा माङहिममा विविध कार्यक्रमसहित उभौली पर्व अर्थात् यक्वा तङनामको अवसरमा पूजाअर्चना (माङसेवा) गरिएको छ ।
माङहिम परिसरमा गालीसराप बहन्ती, संसारीको पूजाअर्चना, युमा थेवा हिममाङको पूजाअर्चना, लेदुङ सेमी, माङहिम परिसरमा सुम्निसा राख्ने र ३१ वटा लिङ्ग फेर्नेलगायतका कार्यहरु गरियो ।
माङहिमका सेवासाँवा (पूजारी) भीमराज कुरुम्वाङ लिम्बूका अनुसार अर्जुनधारा नगर क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायहरु सहभागी भएर पूजाअर्चना गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ अर्जुनधाराका अध्यक्ष तथा उभौली पर्व २०८१ आयोजक समितिका संयोजक तिलसिंह माङमू लिम्बूको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सांसद् शेरबहादुर इङनाम, वडाध्यक्ष खगेन्द्र इङनाम, नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराका उपाध्यक्ष भीम श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा दाताहरु अर्जुनधारा ४ की मीनादेवी राई, अर्जुनधारा ५ की हर्कबहादुर लिङदेन, अर्जुनधारा ६ की ज्ञानुदय नेम्वाङ, अर्जुनधारा १० का कृष्णबहादुर कुरुम्वाङ लिम्बू र विमाया राई साङदेनलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा १० कालिझोडास्थित चोमोलुङ किरात याक्थुम केलाङ समाजमा आबद्ध कलाकारहरुले केलाङ, माङलाङ प्रस्तुत गरेका थिए । समितिका सदस्य मोहन सुब्बाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य खगेन्द्र लिङदेनले गरेका थिए ।