शनिश्चरे । झापाका अर्जुनधारा नगरमा बसोबास गर्ने २५ जना युवालाई निःशूल्क प्लम्बर हेल्पर तालिम आजदेखि सुरु भएको छ ।

 

वैदेशिक रोजगारबाट फर्किएका युवालाई समेटेर वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा २० दिने तालिम सुरु भएको हो । एक अनौपचारिक कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले दक्ष नागरिक बनाउन तालिम आयोजना गरिएको बताए ।

 

तालिमपछि जुनसुकै अवस्थामा पनि रोजगार सिर्जना हुने भन्दै उनले स्वदेश तथा विदेशमा पनि सीपकै आवश्यकता हुने भएकाले दक्ष कामदार उत्पादन गर्ने लक्ष्य लिइएको सुनाए । आजको आवश्यकता प्रविधिमैत्री रोजगार भएकाले पनि अर्जुनधाराका युवालाई तालिम दिइएको उनको भनाइ थियो ।

 

नगरका रोजगार प्राविधिक सुरज तामाङले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई दक्ष बनाएर स्वदेशमै वा विदेशमा स्वरोजगार बनाउन पनि तालिम आयोजना गरिएको बताए । उनका अनुसार यस तालिमबाट सिटिइभीटीबाट मान्यताप्राप्त प्रमाणपत्र सहभागीले पाउने छन् ।

 

नेपाल इन्स्टिच्यूट अफ टेक्निकल एण्ड भोकेशनल ट्रेनिङका तालिम संयोजक अमर पूर्वेको अध्यक्षतामा सुरु तालिममा संस्थाका प्रशिक्षक सुमन श्रेष्ठले सहजीकरण गर्नेछन् ।