झापा । इलाममा कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरु इलाम जितपुरका युवा छन् ।

 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेहरुमा इलाम देउमाई नगरपालिका ९ जितपुरका २१ वर्षीय दिक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू र १७ वर्षकै अशोक लिम्बू रहेका छन् ।

 

उनीहरुलाई आज पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ । गत जेठ ३२ गते सामाजिक सञ्जाल ‘भूत प्रेत’ नामक पेजमा एउटा कुकुरलाई लाठीले बारम्बार प्रहार गरी क्रुरतापूर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनी पुरेको भिडियो अपलोड गरेर भाइरल बनाइएको थियो ।

 

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान तथा खोजी कार्य गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

 

यसरी कुकुरलाई हत्या गर्नेविरुद्ध पशु कल्याण संघ नेपालले ‘पशुपंछीसम्बन्धी कसुर’ अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्तसमेत दिएको छ ।