खुदुनाबारी । झापाको अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएका छन् । अर्जुनधारा नगरपालिका २ को लाप्चेटारमा माथिबाट पहिरो खसेर पुष्पा समाल मगरको घर पुर्दा क्षति पुगेको छ ।
सो घरका मानिसहरुलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइएको छ । पहिरो खस्ने कार्य जारी रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । यसैगरी, अर्जुनधारा १ मा खानेपानी मुहानमा क्षति पुगेको छ भने अर्जुनधारा २ रातेमा मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेका छन् ।
लाप्चेटारबाट सहकाले जाने बाटो पूर्णरुपमा अवरोध भएको र केही ठाउँमा खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान शुरु गरेको छ । यस्तै, अर्जुनधारा ३ मा सुखानी खोलाको कज्वेमा पूर्णरुपमा क्षति पुगी यातायात आवतजावतमा पूर्णरुपमा बन्द भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।