झापा । चौबीस घण्टा बितिसक्दा पनि झापाको सदरमुकाममा विद्युत आपूर्ति हुन सकेको छैन । त्यहाँ विद्युत् अबरुद्ध भएको २७ घण्टा भइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको २४ घण्टाभन्दा बढी भएको हो । सोमबार राति अविरल वर्षासँगै परेको चट्याङले अनारमनी सबस्टेशनबाट आउने ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।
बिर्तामोडदेखि भद्रपुर आउने ३३ केभी प्रसारण लाइनमा चट्याङले विभिन्न स्थानमा क्षति पुर्याएको भद्रपुर वितरण केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए । विद्युत् नहुँदा धेरै समस्या परेकाले छिटो सेवा सुचारु गर्न चन्द्रगढीका शालिकराम भट्टराईले ध्यानाकर्षण गराएका छन् ।
चट्याङले भद्रपुर, कचनकवल र हल्दिबारी क्षेत्रकाका केही स्थानमा पनि क्षति पुर्याएको छ । मंगलबार दिनभर मर्मत सम्भारको काम हुदाँ पनि सेवा अवेर राति सम्म विद्युत सुचारू भएको छैन ।
प्राविधिकहरु पनि हैरान
गरामनी फिडर बिग्रिरहँदा प्राविधिकहरु पनि हैरान भइसकेका छन् । अहिले बनायो एकैछिनमा फेरि बती नअडिने समस्याले उनीहरु हैरान भएका हुन् । गरामनी फिडरको ठूलो क्षेत्र भएकाले कहाँ बिग्रियो भनेर खोज्दा खोज्दा आफूहरु हैरान हुने गरेको उनीहरु बताउँछन् ।
‘गरामनी फिडरबाट कम्प्लेन निकै आउँछ’, कम्प्लेन टिप्न बसेका प्राधिकरणका एक कर्मचारीले भने,‘प्राविधिकहरु मर्मतमा खटिँदा खटिँदा हैरान भइसकेका छन् ।’ यसरी बाक्लै बती जान थालेपछि उपभोक्ताहरु आफूहरुमाथि आक्रोशित भएको उनले सुनाए ।