झापा । देशभर डेंगु संक्रमितको संख्या १ हजार २ सय जनाभन्दा बढी नाघेको छ । त्यसमध्ये झापामा मात्र ११२ जना संक्रमित रहेका छन् । काठमाडौपछि झापामा डेंगु संक्रमितको संख्या देखिएको हो ।

 

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि हिजो बुधबारसम्मको हो ।

 

महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी डेंगु फैलिएका १० जिल्लामा काठमाडौंमा १४१ जना, झापामा ११२ जना, चितवनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् ।

 

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी बागमतीमा ४२८ जना, कोशीमा २८५, गण्डकीमा १८८, लुम्बिनीमा १४८, सुदूरपश्चिममा १४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ ।

 

यस वर्ष डेंगुका कारण बिरामीको ज्यान भने गएको छैन । ईडीसीडीका अनुसार सन् २०१९ मा महामारीको रुपमा फैलिएको डेंगुले १७ हजार ९९२ जना संक्रमित भएकामा ३ जनाको मृत्यु भएको थियो । त्यसैगरी, डेंगुकै कारण २०२२ मा ८८ जना र २०२३ मा २० जनाको ज्यान गएको थियो ।

 

डेंगु संक्रमण देखिएका विरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकी-वान्ता हुने लक्षण देखिन्छ ।

 

त्यस्तै स्वासप्रस्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्षण पनि देखा पर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।