शनिश्चरे । झापा जिल्लामा रगतको अभाव भइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा नगर समितिले आयोजना गरेको रक्तदानमा ४२ पिन्ट रगत संकलन भएको छ ।
पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा अर्जुनधारा ८ स्थित शनिश्चरे चोकस्थित ज्येष्ठ नागरिक चाैतारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ७ महिलासहित ४२ जनाले स्वस्फूर्तरुपमा रक्तदान गरेकाथिए ।
जिल्लामा रगतको अभाव भइरहेको र विपदका बेला सर्वसाधारणलाई सहयोग पुग्ने हेतुले पार्टीको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको नगर कमिटी अध्यक्ष टिआर गौतमले जानकारी दिए ।
अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ७३ पटक रक्तदान गर्ने बिर्तामोडका रमेश पौडेल र ४० पटक रक्तदान गर्ने अर्जुनधारा ६ का विष्णु आचार्यलाई समितिले सम्मान गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा उपशाखा अर्जुनधाराको संयोजनमा भएको कार्यक्रमको सञ्चालन पार्टीका नगर सचिव देवेन्द्र मैनालीले सञ्चालन गरेका थिए भने उपसभापति खगेन्द्र पौडेलले स्वागत गरेका थिए ।