झापा । आज बिहानको रातिदेखि आएको वर्षासँगै परेको चट्याङले झापाको अर्जुनधारा र मेचीनगरमा पनि क्षति गरेको छ ।
आज बिहान ४ः४५ बजे अर्जुनधारा ४ भाङवारी बस्ने गोरेलाल दनुवारको एकतले घरको बिजुलीको मिटरबक्समा चट्याङ पर्दा एउटा बाख्राको पाठी मर्नुका साथै टीभी, पंखा, राउटरलगायतका सामान बिग्रिंदा करिव ६५ हजार मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
त्यस्तै, रातिदेखि परेको अविरल वर्षाका कारण अर्जुनधारा ३ जुकेखाडीमा एउटा बिजुलीको पोल ढलेको छ । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको टोलीले मर्मत कार्य गरिरहेको जनाएको छ ।
त्यस्तै बिहान अन्दाजी ५ बजेको समयमा मेचीनगर ३ भिमसेन टोल बस्ने भिमकुमार श्रेष्ठको ३ तले घरमा परेको चट्याङले विद्युतीय सामग्रीहरु मिटर बक्स, मेन स्वीच, स्वीच बोर्ड, पानी तान्ने मोटर जल्दा अन्दाजी २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
चट्याङले लागेर झापामा दुईजनाको मृत्यु भइसकेको छ । आज बिहान वर्षासँगै परेको चट्याङले लागेर गौरीगञ्ज र कमलमा एक-एक जनाको मृत्यु भएको हो ।