झापा । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।
यसपाली २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका १ मा बेठी लगाएर धान दिवस मनाइँदै छ ।
जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पुर्याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।
धान रोपाइँसँगै आज दही च्यूरा पनि खाने गरिन्छ । प्रमुख खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । नेपालमा धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व छ । यो वर्ष भन्डै १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । धानको उत्पादन बढाउन किसानलाई मनसुनले साथ दिनुपर्छ ।