झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने बिर्तामोडका दुई जना युवा मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड ७ का ३३ वर्षीय सुरज लामा र वडा नम्बर ५ का २२ वर्षीय विजय मगर रहेका छन् ।

 

गएराति १० बजेको समयमा मेचीनगर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको को. २५ प २४४५ नम्वरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।

 

चेकजाँच गर्दा स्कुटरको फुटरेसमा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

स्कुटरसहित स्कुटर चालक लामा र स्कुटर पछाडि सवार मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।