झापा । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।
आज राति पनि कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिदेखि नै पानी परिरहेका ठाउँका नदी र खोलामा बाढी आएको छ ।
पानी परिरहेका ठाउँका नदी खोला किनारमा बस्नेलाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।