दमक । घुँगी टिप्न गएका एक व्यक्तिको रतुवा खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउँसो अन्दाजी ४ः४० बजेको समयमा घुँगी टिप्न खोलामा पसेका बेला राजु मण्डललाई खाेलाले बगाएकाे थियाे ।

 

शिवसताक्षी ३ घर भई हाल दमक ८ स्थित गंगा शिवाकोटीको घरमा डेरा गरी बस्ने ३६ वर्षीय मण्डललाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । मण्डलसँगै घुँगी खोज्न साथी दमक ८ का अन्दाजी ४०-४२ वर्षीय तिलक बुढाथोकी पनि गएका थिए ।

 

मण्डललाई खाेलाले बेपत्ता बनाएलगत्तै बुढाथाेकीले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट संयुक्त टोली खटिएको थियो ।

 

टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ः२० बजे दमक नगरपालिका वडा नम्बर ८ र १० छुट्याउने दिपिनी र रतुवा खोलामा जोडिने दोभानमा उनी मृत अवस्थामा फेला परेका थिए । मण्डलको शव पास्टमार्टमको लागि दमक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।