बिर्तामोड । झापाको बिर्तामोडबाट बुधबार साँझ प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित स्थानीय तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय लागूऔषधको ‘हब’ बन्दै गएको बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरबाटै प्रहरीले तीन युवालाई पक्राउ गरेको हो । बिर्तामोड १ स्थित बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका ती युवालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा बिर्तामोड ६ का २४ वर्षीय अनिष चौधरी, सोही ठाउँका २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा धिरज राईको साथबाट प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान, लेबल बिनाको एम्पुल १ थान बरामद गरेको थियो ।
यसैगरी, सुरज राईको साथबाट प्लास्टिकसहित १ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर, ४ वटा प्रयोग भएको र ५ वटा प्रयोग नभएको नाइट्राभेट कम्पनीको ट्याव्लेट १ पत्ता र अनिष चौधरीको साथबाट चाँदीजस्तो देखिने चम्ची १ थान फेला परेको थियो ।
तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।