झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमकमा दुईजना र भद्रपुरमा एकजना युवा शनिबार पक्राउ परेका छन् ।
दिउँसो १ बजे दमक ५ मा डेरा बस्ने इलाम चुलाचुली ३ का २६ वर्षीय अगम राईलाई ब्राउनसुगर बेच्न तयारी गरेको प्लाष्टिकसहित ५ ग्राम ३२० मिलिग्राम फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठामै स–सानो पोका पारेको अवस्थामा ब्राउनसुगर फेला पारेको हो । सोधपुछका क्रममा कमल गाउँपालिका ५ का ३६ वर्षीय जिवन लिम्वूले मागेको र उनलाई बिक्री वितरण गर्न पोका पारिराखेको बताएका थिए ।
लागूऔषध लिन आउने क्रममा लिम्बूलाई समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
यसैगरी, भद्रपुर ५ स्थित मेची पुलमा एकजना पक्राउ परेका छन् । शनिबार दिउँसो २ः३० बजे भद्रपुरस्थित अस्थायी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री इलाम चुलाचुली ३ का २८ वर्षीय विवेक राईलाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा प्लाष्टिकमा पोका पारी मुखभित्र राखी लुकाइछिपाइ ल्याउँदै गरेको १ ग्राम ८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।