इलाम । पर्यटकीय गन्तव्यका लागि प्रमुख मानिएको इलाम नगरपालिका र देउमाइ नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदै पुल हेर्नेको घुइँचो लाग्न थालेको छ ।

 

पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम ६ र देउमाइँ ६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ । तर, निर्माण सम्पन्न नहुँदै दैनिक सयौँ मानिस पुल हेर्न र वारिपारि गर्न जाने गरेका छन् ।

 

शनिबार र अन्य सार्वजनिक बिदाको दिन त आठ-नौ सय मानिस यहाँ पुग्ने गरेको स्थानीय बुद्धिमान राई बताउँछन् । इलाम चियाबारी बीचबाट पश्चिमतर्फ बालन गाउँहुँदै पुग्न सकिने यो पुलमा निर्माण सम्पन्न नभई मानिसको भिडले जोखिम भने भइरहेको स्थानीयको भनाइ छ ।

 

त्यसै पनि लामो पुल, पुलको बीच भागमा पुगेपछि पुल हल्लिएर त्यहाँ पुगेका मानिसहरू अत्तालिने गरेको पाइन्छ । पारीपट्टि देउमाइँ नगरपालिकातर्फ पुलमुनि बिजुलीको पोल र तारनजिक छ । पुल मज्जाले हल्लियो भने बिजुलीको तार छुने र करेन्ट प्रवाह हुने सम्भावना रहेको अर्का स्थानीय हेम सुब्बाले बताए ।

 

पुलको निर्माण कार्य सक्न केही समय बाँकी रहेको र केही काम पनि बाँकी रहेको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । उनका अनुसार मान्छेको भिड बढ्न थालेपछि जोखिम हेरेर एक जना नगर प्रहरी पनि राखिएको छ ।

 

अहिले इलाम नगरपालिकासहित इलाम सदरमुकाम आइपुग्ने मानिसहरू यो पुल हेर्न सेतीदेवी मन्दिरनजिक पुवाखोला पुग्ने गरेका छन् ।