बिर्तामोड । झापाको बिर्तामोडबाट अर्जुनधारा ७ का विदुर मगर र विजय मगरसँगै चार जना युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा पक्राउ परेका हुन् ।प्रहरीका अनुसार शनिबार राति १० बजे अर्जुनधारा ७ घर भई बिर्तामोड ५ स्थित सुब्बा चौकको खानेपानी ट्याङकी छेउ एक घरमा डेरा गरी बस्ने ३२ वर्षीय विजय मगरको डेरामा त्यसरी जुवातास खेल्दै लागूऔषध बेच्दै गरेको भेटिएको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले मगरको कोठाको तलासी लिँदा तास एक बुक, इलाम माई नगरपालिका २ बस्ने ३० वर्षीय रुपेश ढुङ्गानाको साथबाट १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर, मेचीनगर ९ बस्ने ४५ वर्षीय शेरबहादुर लिम्बूको साथबाट नगद १२० पक्राउ परेका हुन् ।
यस्तै, अर्जुनधारा ७ का ३२ वर्षीय बिजय मगरको साथबाट नगद १४५० र सोही ठाउँ बस्ने ३७ वर्षीय बिदुर मगरसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।