अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा वन्यजन्तुलाई व्यवस्थित गर्दै मानव बस्ती जोगाउन पशुपंक्षी बास बगैँचा अभियान सुरु गरिएको हो ।
अर्जुनधारा-१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रको खैरेनीमा वृक्षारोपण गरिएको हो । अर्जुनधाराको ‘पशुपंक्षी बास बगैंचा कार्यक्रम’ अन्तरगत नेपाली सेनाको अरिदमन गणले उपलब्ध गराएको अमला, तित्री, हर्रो, बर्रो र जामुनलगायत पाँच सय बिरुवा रोपिने नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।
उनका अनुसार सामुदायिक वनबाट निस्किने जंगली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पु¥याउँदै आएकाले सोको न्यूनीकरणका लागि सामुदायिक वनमा पशुपंक्षीमैत्री बिरुवा रोप्ने अभियान शुरु गरिएको हो ।
नगरले नीति तथा कार्यक्रममै उल्लेख गरेर यस अभियान अघि बढाएको बताउँदै नगरप्रमुख गोम्देनले यस आर्थिक वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट ४ का सांसद देवप्रसाद तिम्सिना, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईं लगायतले वृक्षारोपण गरेका हुन् ।
वृक्षारोपण कार्यक्रममा अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, शान्ति सामुदायिक वनका उपाध्यक्ष लक्ष्मी कन्दंवा, इलाका प्रहरी कार्यालय अनारमनीका निरीक्षक नरेश लिम्बू लगायतको उपस्थिति रहेको थियो । वन समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तथा सञ्चालन वनका सचिव प्रभा नेपालले गरेकी थिइन्।
अर्जुनधारा नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । नगर क्षेत्रमा सात वटा सामुदायिक वन छन् । उपलब्ध भएका बिरुवा सकेसम्म सबैतिर वितरण गर्ने योजना रहेको जनाइएको छ ।