झापा । झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी १ स्थित नयाँ बस्तीका ४२ वर्षीय च्याङवा तामाङ रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति ९ बजे बाह्रदशी २ जनता बजारस्थित भित्री सडकखण्डमा कुटीबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो ।

 

घाइते तामाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा आज बिहान पौने १२ बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मोटरसाइकलमा पछाडि सवार कचनकवल गाउँपालिका १ का अन्दाजी १९ वर्षीय श्रवण राजवंशीसमेत घाइते भएका थिए । निधार र टाउकोमा चोट लागेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकल चालक कचनकवल १ पिण्डलबारीका १९ वर्षीय देवराज राजवंशीलाई नियन्त्रणमा लिएको छ ।