ताप्लेजुङ । दोभानबाट नाल्वु जाँदै गरेको ग ३ च ९८४७ नम्बरको बलेरो जिप दुर्घटना हुँदा ताप्लेजुङमा तीन जना घाइते भएका छन् । मंगलबार मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा जिप दुर्घटना भएको हो ।
मेरिङदेन २ स्थित सान्थाक्रामा उकालोमा नचढेपछि जिप चालक पेम्वा शेर्पा गाडी स्टार्टमै छोडेर ओट लगाउन गाडीबाट झरेको र त्यही बेला सडकबाट २० मिटर तल गाडी झरेको स्थानीयले बताए । जिपमा बालबालिकासहित १० जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार फुङलिङ नगरपालिका ४ की २८ वर्षीया कान्छीमाया शेर्पा, उनका तीन वर्षका छोरा पासाङ डण्डु शेर्पा र मिक्वाखोला ४ साँवाकी २५ वर्षीया उर्मिला लिम्बूको जिल्ला अस्पताल ताप्लेजुङमा अहिले उपचार भइरहेको छ ।