झापा । झापा अर्जुनधाराका एक व्यक्ति घरमा अवैधरुपमा हातहतियार लुकाई छिपाइ राखेको अवस्थामा पक्राउ परेका छन् । यसअघि भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका थिए ।

 

पक्राउ पर्नेमा अर्जुनधारा ४ दहिझोडा बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे रहेका छन् । घरमा अवैधरुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति ८ बजे पक्राउ गरेको हो ।

 

उनको घरमा खानतलासी लिँदा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको काँसको छानोभित्र पहेँलो प्लास्टिकमा पोका पारी राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको थियो ।

 

पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई इलाका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

 

यसअघि गत साताको शनिबार राति भरुवा बन्दुक र चोरीका सामानसहित अर्जुनधारामा ३ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा अर्जुनधारा ४ का १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेका छन् ।