
शनिश्चरे । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर बिरामी भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ । मंगलबार प्रसाद खाएपछि अर्जुनधारा ९ खरबन्दीका स्थानीय बिरामी भएका थिए ।
अर्जुनधारा ९ खरबन्दीस्थित रिता निरौलाको घरमा मंगलबार घरपैँचोको पूजा लगाइएको थियो । निम्तालुले प्रसाद खाएपछि ८० जनाभन्दा बढी बिरामी भएका हुन् । बिरामी हुनेमा स्वयम् घरधनी, आफन्त र छरछिमेकी छन् ।
रोटी, तरकारी र अचार खाएका अधिकांश बिरामीलाई ज्वरो आउने, बान्ता हुने र पखाला चल्ने लक्षण देखिएको शनिश्चरे अस्पतालका प्रमुख डा. योगेश चेम्जोङले जानकारी दिए ।
मंगलबार प्रसाद खाए पनि बुधबार अधिकांश बिरामीलाई ‘फुड पोइजन’को लक्षण देखिएको थियो । उनीहरु स्थानीय चिमरिया क्लिनिकमा उपचार गर्न गएका थिए । क्लिनिकमा ५३ जनाले उपचार गराएको प्रहरी तथ्यांक छ ।
क्लिनिकमा सामान्य उपचारपछि घर फर्किएका बिरामीहरु फेरि समस्यामा पर्न थालेपछि बुधबार राति र बिहीबार बिहानैदेखि शनिश्चरे अस्पतालमा आएका हुन् ।
अस्पतालका अनुसार बालबालिकादेखि बृद्धबृद्धासम्म ७४ जना उपचारका लागि भर्ना गरिएको थियो । जसमध्ये ३९ जनालाई दिउँसो मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको हो । रेफर गरिएका बिरामीको अवस्था जटिल नभएको बताइएको छ ।
अस्पतालमा बिरामीको चाप बढेपछि वडामा कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालमा परिचालन गरी बिरामीको उपचारमा सहजता प्रदान गरेको थियो । बिरामीको उपचारमा स्वास्थ्यकर्मीदेखि लिएर विशेषज्ञसमेत खटिएका थिए ।
नगर प्रमुख बलदेवसिंह गोम्देनलगायत जनप्रतिनिधि बिरामीको रेखदेखमा खटिएका थिए । नगरबासी अकस्मात बिरामी भएपछि नगर प्रमुख गोम्देनले औषधि, उपचार खर्च निःशूल्क घोषणा गरेका थिए ।
यसैबीच, एकै गाउँका धेरै बिरामी भेटिएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्लाका स्वास्थ्यकर्मीलगायतको टोलीले निरीक्षण गरेको थियो ।
अर्जुनधारा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख राजविक्रम खड्काका अनुसार अस्पतालमा ३९ जना उपचाररत छन् । बिएन्डसी अस्पताल बिर्तामोडमा उपचाररत चार जनाले रेफर लिएर शनिश्चरे आएको बताइएको छ । अन्य दुई जनाको मनमोहन हस्पिटलमा उपचार भइरहेको छ ।
यस्तै, कतिपय आफन्त जिल्लाबाहिर आफ्नो घर फर्किसकेका छन् भने सामान्य अवस्थाका बिरामीले घरमै स्वास्थ्य लाभ लिइरहेको बताइएको छ ।