झापा । आतंकित पार्ने उद्देश्यले झापाको गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि एक समूहले कुकर बम राखेको छ ।

 

पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अवस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर बम फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन ।

 

बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् । बमसँगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन ।

 

त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने गिरीबन्धु टी इस्टेटका सञ्चालक छत्र गिरीले बताएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।