बिर्तामोड । प्रेमिका भनिएकी युवतीको हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका ३ बस्ने २० वर्षीय अनिल विकको अवस्था गम्भीर रहेको छ ।

 

मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘उनको अवस्था क्रिटिकल नै छ’, बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले भने, ‘अहिलेसम्म बोल्न सकेका छैनन् । अचेत नै छन् ।’

 

उनले हिजो साँझ ६ः३० बजेतिर अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका भनिएकी इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनिषा लोहारलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

 

छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएको बताइएको छ । युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएर भाग्ने क्रममा नामथर नखुलेका स्थानीय ब्यक्तिहरुले कुटपिट गरी विकलाई घाइते बनाएको प्रहरीले जनाएको छ । कैलालीका विक कहिले आए र युवतीसँग पछिल्लो भेट कसरी भयो भन्ने खुलिनसकेको डीएसपी विष्टले बताएका छन् ।