झापा । सशस्त्र प्रहरीले सीमा नाकामा लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रतिबन्धित ब्राउनसुगर मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
मेची पुलमा सशस्त्र प्रहरीका प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा र लागूऔषध अनुसन्धान व्यूरोको टोलीले आइतबार दिउँसो भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धनुषा मिथिला- ९ बस्ने २८ वर्षीय श्यामबहादुर लोप्चनलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनले मलद्वारमा लुकाई ल्याएको ३५ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
त्यस्तै, बिहान १०ः२० बजे मेची पुलमै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बुद्धशान्ति ३ बस्ने २३ वर्षीय रोजन राजवंशीलाई पनि ब्राउन सुगरसहित पक्राउ गरिएको छ । शंका लागेर चेकजाँच गर्दा उनले पनि मलद्वारमा लुकाई ल्याएको १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई पनि पक्राउ गरी आवश्यक कारवाहीको लागि इप्रका काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज विष्टले जानकारी दिएका छन् ।