झापा । झापाको कमलमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसासमेत फुटाएका छन् ।

 

पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ स्थित रबी पेट्रोल पम्प अगाडि शनिबार दिउँसो साढे १२ बजेको समयमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा परी मोटरसाइकल चालक मोरङ केराबारी ७ का ५५ वर्षीय पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । दुर्घटनापछि आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको डीएसपी चन्दको भनाइ छ ।

 

घटनालाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । दुर्घटनाका कारण पूर्व पश्चिम राजमार्ग आधा अवरुद्ध बनेको थियो । प्रहरीले वैकल्पिक मार्गबाट सवारीसाधन आउजाउको व्यवस्था मिलाएको थियो ।

 

बस चालक घेरादह नगरपालिका १ का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।