झापा । चर्को दबाबपछि प्रहरीले दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले मोरङ उर्लाबारी ६ का ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी ७ का ४९ वर्षीय ध्रुव गौतम र संखुवासभा मादी १० स्थायी ठेगाना भइ दमक ३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले घटनापछि फरार रहेका दर्जीलाई प्रहरीको विशेष टोलीले हिजो काँकडभिट्टाबाट पक्राउ गरेको जानकारी दिए ।
घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत खोजतलास भइरहेको डीएसपी चन्दको दाबी छ ।
गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक ३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको विषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो । निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त र स्थानीयहरुले विगत पाँच दिनदेखि लगातार आन्दोलन गर्दै आएका छन् ।
मृतकका आफन्त, स्थानीयबासी र जनप्रतिनिधिले दबाब दिएपछि मात्र पीडितको किटानी जाहेरी प्रहरीले दर्ता गरेको बताइएको छ । जाहेरी दर्ता गरे पनि घटनासँग जोडिएका पक्राउ परेकाबाहेक मुख्य आरोपीहरुलाई पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ।
मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बूसहित दमक ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध मृतककी श्रीमती कृष्णमायाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन् ।