झापा । अर्जुनधारा जेसीज शनिश्चरेले औपचारिकरुपमा मंगलबारदेखि जेसीज सप्ताह २०२४ को उद्घाटन गरेको छ । विशेष गरेर युवालाई समेट्ने उद्देश्यले सुरु जेसीज सप्ताहमा विद्यार्थी, खेलाडी र युवालाई लक्षित गरिएको छ ।

 

जसअन्तर्गत खेल क्षेत्रमा लागेका क्लब र खेलाडीलाई खेल सामग्री वितरण गरिएको छ । यस्तै, स्वास्थ्य शिविरको पनि आयोजना गरिएको छ । अर्जुनधारा ४ स्थित लक्ष्मी आधारभूत विद्यालयको प्राङ्गणमा जेसीजका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित सप्ताह कार्यक्रमको उद्घाटन वडाध्यक्ष अम्बरबहादुर कटुवालले गरे ।

 

सोही विद्यालयमा अध्धयनरत् विद्यार्थीहरुलाई ३२ जोर जुत्ता हस्तान्तरण गरियो । यसैगरी, दहीझोडा फुटबल क्लब, रातेखाल फुटबल क्लब, रातेखाल क्रिकेट टिम, फूलबारी फुटबल टिम र बागेडाँगीमा आबद्ध खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

 

यसैगरी, शनिश्चरेको फरवार्ड एजुकेशन फाउण्डेशनमा सञ्चालन हुने गरी २० जनालाई निःशुल्क आधारभूत कम्प्युटर तालिमको व्यवस्था गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । जेसीज सप्ताहमा अर्जुनधारा ४ नम्बर वडा कार्यालयले आर्थिक सहयाेग प्रदान गरेकाे छ ।

 

जेसीजले सप्ताह कार्यक्रमअन्तर्गत बुधबार अर्जुनधारा ४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, बिहीबार अर्जुनधारा ७ स्थित अर्जुनधारा जेसीज शनिश्चरे कार्यालयसम्म पुग्ने जेसीज मार्गको उद्घाटन र मंसीर ११ गते अर्जुनधारा २ नम्बर वडा कार्यालय प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह कार्यक्रमका मूल संयोजक भवानी बरालले जानकारी दिए ।

 

जेसीजका सहसचिव एवम् कार्यक्रम संयोजक रमेश विष्टको संयोजकत्वमा आयोजित कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापा, लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक देवीनारायण विष्टलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका मूल संयोजक बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन जेसीजका सचिव गौरव भण्डारीले गरेका थिए ।