झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने मकवानपुरका एक युवा मेची पुलमा पक्राउ परेका छन् । शुक्रबार दिउँसो ३ः३० बजे ३१ वर्षीय युवा पक्राउ परेका हुन् ।
मेचीनगर ६ स्थित पुरानो मेची पुलमा भारतबाट सिटी रिक्सामा चढेर नेपालतर्फ आउँदै गरेका मकवानपुर थाहा नगरपालिका ६ बस्ने ३१ वर्षीय आशाकाजी तामाङ ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनले बोकेको झोलाभित्र प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित १९ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।