झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा ७ स्थित अर्जुनधारा जलेश्वरधाममा अत्याधुनिक सुविधासम्पन्न अतिथि सदन निर्माण हुने भएको छ । अर्जुनधारा धाम नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा सूचिकृत रहेको छ ।

 

धामको ४२औं वार्षिक अनुष्ठानको अवसर पारेर अतिथि सदन निर्माणस्थलमा सामुहिक भूमिपुजन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि १००८ स्वामी सिद्धबाबा कालीदासजी महाराज, विशेष अतिथि श्रीकृष्ण प्रणामी धर्म मंगलधाम कालिम्पोङका प्रमुख १०८ मोहनप्रियाचार्य महाराजले भूमिपुजन गरेका थिए ।

 

उक्त भूमिपुजन कार्यमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानी, धर्मदर्शन फाउण्डेशन नेपालका संस्थापक एवम् धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी, मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले संकल्पसहित सहभागी भएका थिए ।

 

धामको गुरुयोजनाअनुसार निर्माण हुने उक्त अतिथि सदन बेसमेन्टसहित आठ तलाको हुने धामका सल्लाहकार इन्जिनियर शंकर सुवेदीले जानकारी दिए । एउटा लिफ्ट, दुई वटा सिंढी, दुई वटा सभाहल, सुविधासम्पन्न कोठा र शौचालयहरु रहने अतिथि सदन निर्माण गर्न अनुमानित २५ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

 

बहुउद्देश्यीय प्रयोजनमा प्रयोग हुने अतिथि सदनको नाम ‘अमर धर्मशाला’ नामकरण गर्ने निर्णय भएको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

 

अतिथि सदन निर्माणका लागि पूर्व मुख्यमन्त्री थापाले कोशी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र अर्जुनधारा नगरपालिकाका प्रमुख तामाङले ७५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।