झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजना पक्राउ परेका छन् ।
घटना गराएको करिब अढाई महिनापछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका ६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् ।
बुधबार राजकुमारलाई उर्लाबारी ७ स्थिच चोकबाट पक्राउ गरिएको हो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका १ जाँतेरोड चोकबाट पक्राउ परेका हुन् ।
घटनापश्चात् फरार रहेका उनीहरुलाई सुक्ष्मरुपमा अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनीहरुलाई विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।
गत भदौ २८गते बिहान बिर्तामोड ६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेटको पश्चिम पर्खालनजिकै क्षति पुर्याउने उद्देश्यले उनीहरुले कुकर बम राखेका थिए ।